धारा १६९
मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुुने अवस्था

(१) देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछः–
(क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा,
(ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
(ग) निज प्रदेश सभाको सदस्य नरहेमा,
(घ) निजको मृत्यु भएमा ।
(२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछः–
(क) निजले मुख्यमन्त्री समक्ष लिखित राजीनामा दिएमा,
(ख) मुख्यमन्त्रीले निजलाई पदमुक्त गरेमा,
(ग) उपधारा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम मुख्यमन्त्रीको पद रिक्त भएमा,
(घ) निजको मृत्यु भएमा ।
(३) उपधारा (१) बमोजिम मुख्यमन्त्रीको पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ ।
तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्काे मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।